वीरगन्ज,
जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग जोडिएको अन्तरराष्ट्रिय नाका ७२ घण्टा बन्द गरेको छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलका अनुसार पर्सा जिल्लासँग जोडिएको भारतको विहार राज्यअन्तर्गत पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लाका सीमानामा निर्वाचन सुरक्षा सुनिश्चित गर्न नाका बन्द गरिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो, “फागुन १८ गते राति १२ः०० बजेदेखि फागुन २१ गते राति १२ः०० बजेसम्म सीमानाका नाका बन्द रहनेछन्। निर्वाचनको समयमा दुवै मुलुकले ७२ घण्टा सीमा बन्द गर्ने परम्परा छ।”
उहाँले फागुन १९ गते तराई–मधेसमा मनाइने होली पर्वलाई पनि शान्तिपूर्ण र निर्वाचनमैत्री ढङ्गले मनाउन आह्वान गर्नुभयो। “सार्वजनिक स्थानमा भीडभाड, होहल्ला, जबर्जस्ती रङ हाल्ने, मदिरा सेवन गरी सामाजिक सद्भाव खल्बलिने गतिविधि नगर्न अनुरोध गर्दछौँ। कुनै पनि राजनीतिक दल वा उम्मेदवारको झन्डा वा चुनाव चिह्न अङ्कित कपडा लगाएर पर्व मनाउनसमेत निषेध गरिएको छ।”
प्रशासनले मोटरसाइकल दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै फागुन २० गते मोटरसाइकल प्रयोग गरेर होली मनाउन निषेध गरिएको पनि जानकारी दिएको छ। साथै, फागुन १९ गतेदेखि निर्वाचन परिणाम घोषणा नभएसम्म जिल्लाभर कुनै पनि राजनीतिक दलको प्रचारप्रसार, सभाजुलुस तथा धार्मिक, सांस्कृतिक वा सामाजिक कार्यक्रममा डीजे र ध्वनि प्रदूषण हुने खालका बाजा बजाउन निषेध गरिएको छ।