म्याग्दी,
बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारी क्षेत्रमा ‘बेञ्चिङ’ विधिबाट पहिरो रोकथामको काम थालिएको छ। भिरालो जमिनलाई सिँढी जस्तो तहमा रूपान्तरण गरी स्थिर बनाउने यस प्रविधिलाई प्राविधिक भाषामा ‘बेञ्चिङ’ भनिन्छ।
सडक आयोजनाले वर्षायाममा बारम्बार पहिरो खसेर सडक अवरुद्ध हुने समस्यालाई मध्यनजर गर्दै कम खर्चमा अस्थायी समाधानका रूपमा यो विधि अपनाएको हो। आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार सिरुबारी क्षेत्रमा अस्थायी रूपमा पहिरो नियन्त्रण गरी आगामी वर्षायाममा नियमित यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
सिरुबारीमा करिब ३०० मिटर क्षेत्रमा फैलिएको पहिरोको दीर्घकालीन समाधानका लागि करिब ६० करोड रुपैयाँ आवश्यक पर्ने भए पनि बजेट अभावका कारण तत्काल काम अघि बढ्न सकेको छैन। त्यसैले आयोजनाले आन्तरिक स्रोत परिचालन गर्दै डोजर प्रयोग गरेर भिरालो पाखालाई तहगत रूपमा काट्ने काम सुरु गरेको जनाएको छ।
यस क्षेत्रमा सडकभन्दा करिब एक किलोमिटर माथिसम्म जमिन पहिरोमा परिणत भएको छ भने तलतर्फ कालीगण्डकी नदी बगिरहेको छ। पछिल्ला तीन वर्षयता वर्षायाममा पहिरो खसेर दैनिकजसो सडक अवरुद्ध हुने समस्या देखिँदै आएको छ।
सडक अवरुद्ध हुँदा कोरला नाकाबाट सामान ल्याउने कन्टेनर, मुस्ताङ जाने–आउने पर्यटक, तीर्थयात्री तथा स्थानीयवासी बीच बाटोमै रोकिएर अलपत्र पर्ने गरेका छन्। अन्य स्थानका पहिरो नियन्त्रणका लागि काम भए पनि सबैभन्दा ठूलो समस्या रहेको सिरुबारी क्षेत्रमा बजेट अभावका कारण काम हुन सकेको थिएन।
हाल सडकभन्दा माथिल्लो भागमा दुई स्थानमा डोजर प्रयोग गरेर जमिन सम्याउने काम गरिएको छ। करिब १७ मिटर फराकिलो बनाइने सडकमा सात मिटर डिलतर्फ खाली राखी बाँकी १० मिटर भागमा पर्खाल निर्माण गरेर पहिरो थुप्रिने संरचना बनाइने आयोजना प्रमुख शर्माले जानकारी दिनुभयो।