मध्यपूर्व विवादका बीच ग्यास र तेल मूल्यमा उछाल, शेयर बजार ओरालोमा

mayukarajkumari

लन्डन/न्यूयोर्क,

मध्यपूर्वमा तनाव बढ्दै गएपछि विश्वव्यापी ग्यास र तेल मूल्यमा तीव्र वृद्धि भएको छ भने शेयर बजारमा ठूलो गिरावट आएको छ । बेलायतमा ग्यास मूल्य तीन वर्षमा उच्चतम स्तरमा पुगेको छ भने ब्रेन्ट क्रूड तेलको मूल्य जुलाई २०२४ पछि पहिलो पटक बारेलमा $८५ नाघेको छ।

यसैबीच, अमेरिकी, युरोपेली र एशियाली शेयर बजारका कम्पनीको मूल्य घटेका छन्। इजरायल र अमेरिकाले इरानमा हवाई हमला गरेपछि र तेहरानले प्रतिकार गरेपछि लगानीकर्ताहरूले मुद्रास्फीति, ब्याजदर र वैश्विक आर्थिक प्रभावको मूल्याङ्कन गर्न थालेका छन्। विशेषज्ञहरूले यस संकटले रूसको युक्रेन आक्रमणको जस्तो प्रभाव पार्न सक्ने डर व्यक्त गरेका छन्, जसले विश्वव्यापी ऊर्जा मूल्य बढाएको थियो।

बेलायतको बजेट कार्यालयले यस युद्धले राष्ट्रिय तथा वैश्विक अर्थतन्त्रमा “धेरै ठूलो प्रभाव” पार्न सक्ने चेतावनी दिएको छ। जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले पनि आर्थिक नोक्सानको चिन्ता व्यक्त गर्दै युद्ध छिट्टै अन्त्य होस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

शेयर बजारमा लन्डनको एफटीएसई १०० सूचकांक २.७५% ओरालोमा, जर्मनी र फ्रान्सका मुख्य सूचकांक क्रमशः ३.४४% र ३.४६% घटेका छन्। अमेरिकी एस एण्ड पी ५०० सूचकांक खुल्ने बित्तिकै तल गयो तर केही सुधारसहित ०.९% तल बन्द भयो। एशियामा जापानको निक्केई ३.३% घटेको छ भने हङकङ र चीनको मुख्य सूचकांक पनि ओरालोमा छन्।

ग्यास मूल्यमा तीव्र वृद्धि कतार एनर्जीले आफ्ना सुविधामा “सैनिक हमला” भइसकेपछि उत्पादन रोक्दा भएको हो। यसले एलुमिनियम, मेथानोल र यूरिया जस्ता उत्पादनमा पनि असर पारेको छ। स्ट्रेट अफ होर्मुजमार्फत तेल र ग्यास ढुवानी प्रभावित भएको र सुपरटेकर भाडा दिनको $४ लाख नाघेको छ। यसले तेल र ग्यासको ढुवानी लागत बढाएको छ, जसले अन्ततः उपभोक्ता मूल्यमा प्रभाव पार्ने सम्भावना रहेको छ।

विशेषज्ञका अनुसार तेल र ग्यास मूल्य बढेसँगै इन्धन, यातायात र खाद्य वस्तुको मूल्य बढ्ने भएकाले मुद्रास्फीतिको गति बढ्न सक्छ, जसले केन्द्रिय बैंकले ब्याजदर कटौती गर्ने सम्भावना घटाउनेछ। बेलायतका उपभोक्ताले पनि पेट्रोलियम मूल्यमा वृद्धि अनुभव गर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया