विश्व शान्तिका लागि निःशस्त्रीकरण दिवस आज मनाइँदै

mayukarajkumari

काठमाडौँ,

आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना सम्बन्धी अन्तरराष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार तथा विश्व शान्ति र सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२२ डिसेम्बर ७ मा प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सो निर्णयअनुसार यो दिवस पहिलो पटक सन् २०२३ मार्च ५ मा औपचारिक रूपमा मनाइएको हो।

कोभिड–१९ पछिको विश्व परिवेशमा बढ्दो द्वन्द्व, सैन्य खर्चमा भएको वृद्धि तथा आणविक जोखिमका चुनौतीहरूले शान्ति प्रक्रिया झन् जटिल बन्दै गएको सन्दर्भमा यस दिवसको महत्व अझ बढेको बताइन्छ। विज्ञहरूका अनुसार निःशस्त्रीकरण केवल युद्ध अन्त्य गर्ने उपाय मात्र नभई दिगो शान्तिको आधार पनि हो। यसले मानव सुरक्षा, आर्थिक विकास र सामाजिक स्थायित्वमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

निःशस्त्रीकरण सैन्य वा राजनीतिक मुद्दामा मात्र सीमित नभई दिगो विकास, मानव अधिकार तथा साझा समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गरिएको छ। दीर्घकालीन शान्ति सुनिश्चित गर्न अन्तरराष्ट्रिय सहकार्य, संवाद र विश्वासको वातावरण निर्माण अपरिहार्य रहेकोमा जोड दिइएको छ।

यस अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस ले विश्व समुदायलाई निःशस्त्रीकरणतर्फ ठोस र तत्काल कदम चाल्न आह्वान गर्नुभएको छ। उहाँले युद्धका लागि होइन, शान्तिका लागि स्रोत र शक्ति परिचालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै कूटनीतिक संवाद, आपसी विश्वास र बहुपक्षीय सहकार्य सुदृढ बनाउन सदस्य राष्ट्रहरूलाई आग्रह गर्नुभएको छ।

प्रतिक्रिया