ताप्लेजुङ
सुशीला कार्कीले आगामी निर्वाचनको तयारी तथा हिमाली जिल्लाको वस्तुस्थिति बुझ्ने क्रममा शुक्रबार ताप्लेजुङको भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले स्थानीय बासिन्दा, दर्शनार्थी तथा सरकारी अधिकारीहरूसँग अन्तरक्रिया गर्दै निर्वाचन सफल बनाउन सबैको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो।
बिहानै प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पूजा–अर्चना तथा दर्शन गरेपछि प्रधानमन्त्री कार्कीले त्यहाँ उपस्थित स्थानीय तथा विभिन्न स्थानबाट आएका भक्तजनहरूसँग संवाद गर्नुभएको थियो। सो अवसरमा उहाँले आगामी निर्वाचन देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै सबै नागरिकलाई अनिवार्य रूपमा मतदानमा सहभागी हुन आग्रह गर्नुभयो। चुनाव शान्तिपूर्ण र मर्यादित बनाउन आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो।
पाथीभराबाट फर्किएपछि प्रधानमन्त्री कार्कीले सदरमुकाम फुङलिङमा सरकारी अधिकारीहरूसँग निर्वाचन तयारी, व्यवस्थापन तथा सुरक्षा अवस्थाबारे छलफल गर्नुभयो। छलफलमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले जिल्लाको समग्र अवस्था र तयारीबारे जानकारी गराएका थिए।
अधिकारीहरूका अनुसार ताप्लेजुङमा ९० हजार ३२७ मतदाता रहेका छन् भने दुई अस्थायी सहित ८२ मतदानस्थल तोकिएका छन्। तीमध्ये केही मतदानस्थल हिमाली तथा भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका कारण हिमपात भए कर्मचारी आवतजावतमा कठिनाइ हुन सक्ने बताइएको छ। सुरक्षा अवस्था सामान्य रहेको र नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालबीच प्रभावकारी समन्वय कायम रहेको जानकारी दिइएको थियो। छलफलको समापनमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र मितव्ययी रूपमा सम्पन्न गरी भविष्यका लागि उदाहरणीय बनाउन निर्देशन दिनुभएको छ।