भक्तपुर,
मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष चौथोपटक बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने भएका छन्।
नवौँपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका ५१ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले तीन वर्षअघि जिब्रो छेडेर पुस्तान्तरण गरेका थिए। यस वर्ष पनि उनले आफैंले जिब्रो छेडेर जात्रा सञ्चालन गर्ने बताए।
जात्राका कर्मी कृष्णचन्द्र बाग श्रेष्ठका अनुसार यो जात्रा चार सय वर्षअघिदेखि चल्दै आएको छ र अहिलेसम्म कुनै परिस्थितिमा रोकिएको छैन। जात्रामा चार दाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई, महिलालाई वा सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो नुन खान नहुने र बोडे क्षेत्र बाहिर जान नहुने नियम पालना गर्नुपर्छ।
यसअघि नौपटक जिब्रो छेडेर जात्रा सञ्चालन गरिसकेका बुद्धकृष्णले भने, जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि व्रत बस्नुपर्छ। सानैदेखि बुबासँगै जात्रा हेर्दा सुजनको मनमा पनि जिब्रो छेड्ने इच्छा जागेको थियो। पहिलोपटक जिब्रो छेड्दा उत्साह र उमङ्गले दुखाइसमेत याद नभएको उनले बताए।
पहिला जिब्रो छेड्ने व्यक्तिको कमी हुने भए पनि यस वर्ष चार जना युवाले जिब्रो छेड्ने इच्छा देखाएका छन्। सुजनले भने, “बुबाले जात्रा, कला र संस्कृतिलाई जोगाएको देख्दा म पनि प्रेरित भएँ। सबैले जयजयकार गरेको देख्दा उत्साह जाग्यो। यस वर्ष पनि म जिब्रो छेडेर महाद्धीप बोकेर बोडे क्षेत्र घुम्नेछु र जात्रालाई निरन्तरता दिनेछु।”
जात्राअघि चैत २८ गते जिब्रो छेड्ने व्यक्तिले नाय पमाको घरमा पुगेर नाय पमाः तथा कर्मी नायलाई चार दाम चढाएर जात्राको तयारी सुनिश्चित गर्छन्। जात्राका दिन व्रत बसेकाहरू प्राचीन देवी–देवताहरूको पूजा गर्दै पाँचो गणेश मन्दिर परिसरमा हजारौं भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने परम्परा छ।
जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गर्ने र महालक्ष्मी मन्दिरको परिक्रमापछि सुइरो जिब्रोबाट झिकेर घाउमा माटो लगाउने चलन छ। हालसम्म बोडेका १३ जनाले निरन्तर १०९ वर्षसम्म जिब्रो छेड्ने रेकर्ड कायम गरेका छन्।