काठमाडौँ,
जेनजी आन्दोलनपछिको विशेष राजनीतिक परिस्थितिमा आयोजना गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान भइरहेको छ। मुलुकका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुने व्यवस्था गरिएको छ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि यो प्रतिनिधिसभाको तेस्रो निर्वाचन हो। यसअघि वि.सं. २०७४ र २०७९ सालमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो। आजको निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने’ (प्रत्यक्ष) प्रणालीतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि मतदान हुँदैछ।
प्रत्यक्षतर्फ ६१ निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गरेका छन्। यस प्रणालीअन्तर्गत तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी कुल तीन हजार ४०६ उम्मेदवार चुनावी मैदानमा छन्। समानुपातिकतर्फ भने एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।
यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। साथै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएको छ। देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् भने १४३ अस्थायी मतदानस्थल तोकिएका छन्। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई प्राथमिकताका साथ मतदानको व्यवस्था मिलाइएको छ।
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धानका कर्मचारी र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन्। निर्वाचन सञ्चालनका लागि दुई लाख १५ हजार कर्मचारी परिचालन गरिएको छ। आयोगले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी कुल चार करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पुर्याइसकेको जनाएको छ।
यस निर्वाचनको पर्यवेक्षणका लागि चार अन्तरराष्ट्रिय तथा ३९ राष्ट्रिय संस्था खटिएका छन्। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तलगायत उच्च पदाधिकारीहरूले नागरिकलाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आह्वान गरेका छन्।