सूर्यविनायकमा क्यूआर कोडसहित डिजिटल घर नम्बर अभियान सुरु

mayukarajkumari

भक्तपुर, 

सूर्यविनायक नगरपालिका
ले नगर क्षेत्रका सबै घरमा क्यूआर कोडसहितको डिजिटल घर नम्बर जडान गर्ने अभियान सुरु गरेको छ। चालु आर्थिक वर्षभित्र सबै घरलाई नम्बरिङ गर्ने लक्ष्यसहित डिजिटल घर नम्बर प्रणाली औपचारिक रूपमा कार्यान्वयनमा ल्याइएको हो।

अभियानको सुरुवात वडा नम्बर १० चित्तपोल पारीगाउँस्थित नगरप्रमुख वासुदेव थापाको घरमा नम्बर टाँसेर गरिएको हो। नगरपालिकाका अनुसार आधुनिक प्रविधिको प्रयोगमार्फत नगरका सम्पूर्ण घरमा डिजिटल नम्बर पुर्‍याउने उद्देश्य राखिएको छ। नगरप्रमुख थापाले नगरलाई व्यवस्थित, पारदर्शी र स्मार्ट बनाउने लक्ष्यसहित यो अभियान सुरु गरिएको बताउनुभयो। उहाँका अनुसार डिजिटल घर नम्बर प्रणालीले नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउन सहयोग गर्नेछ र भविष्यमा स्मार्ट सिटी विकासको आधार तयार पार्नेछ।

यसैबीच, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले डिजिटल म्यापिङ र घर नम्बरिङ प्रणालीले नगरको तथ्याङ्क व्यवस्थापनलाई व्यवस्थित बनाउने, सेवा प्रवाहलाई तीव्र बनाउने तथा आपत्कालीन सेवा लक्षित स्थानमा छिटो पुग्न सहयोग पुर्‍याउने जानकारी दिनुभयो।

नगरपालिकाले प्रत्येक घरमा क्यूआर कोडसहितको डिजिटल नम्बर जडान गरी घरसम्बन्धी विस्तृत विवरण सङ्कलन गर्ने जनाएको छ। यसअन्तर्गत घरको ठेगाना, परिवार विवरण, नक्सा समन्वयलगायतका सूचनालाई डिजिटल रूपमा अभिलेख राखिनेछ। उक्त प्रणालीले कर सङ्कलन, योजना निर्माण, विपद् व्यवस्थापन तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।

प्रतिक्रिया