मध्यपूर्व द्वन्द्व चर्किँदा तेल मूल्य उकालो, विश्व शेयर बजारमा गिरावट

mayukarajkumari



मध्यपूर्व क्षेत्रमा द्वन्द्व चर्किँदै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ भने विश्व शेयर बजारमा गिरावट देखिएको छ। अमेरिका र इजरायलको आक्रमणपछि इरानले क्षेत्रभर प्रतिआक्रमण जारी राखेपछि विश्व ऊर्जा आपूर्तिमा अनिश्चितता बढेको हो। विश्वको प्रमुख तेल मापदण्ड ब्रेन्ट क्रुडको मूल्य करिब १० प्रतिशतले बढेर प्रति ब्यारेल ८२ डलर नाघेको थियो भने प्राकृतिक ग्यासको मूल्य पनि करिब २५ प्रतिशतसम्म उकालो लागेको छ।

इरानले विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास ओसारपसार हुने महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुज प्रयोग नगर्न जहाजहरूलाई चेतावनी दिएपछि अन्तर्राष्ट्रिय ढुवानी प्रभावित भएको छ। उक्त क्षेत्रमा कम्तीमा तीन जहाजमाथि आक्रमण भएको रिपोर्ट सार्वजनिक भएपछि सयौँ ट्यांकरहरू समुद्रमा नै रोकिएका छन्। सुरक्षा जोखिम र बीमा खर्च बढेकाले धेरै जहाजहरूले मार्ग प्रवेश नगरी प्रतीक्षा गरिरहेका छन्।

ऊर्जा मूल्य बढ्ने चिन्तासँगै विश्व शेयर बजारमा गिरावट आएको छ। बेलायतको एफटीएसई–१०० सूचकांक झण्डै १ प्रतिशतले घटेको छ भने फ्रान्सको सीएसी–४० र जर्मनीको ड्याक्स सूचकांक क्रमशः १.८ र २.१ प्रतिशतले ओरालो लागेका छन्। ऊर्जा मूल्य वृद्धि हुँदा मुद्रास्फीति बढ्न सक्ने र केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने योजना रोक्न सक्ने आशंकाले बैंक तथा हवाई क्षेत्रका कम्पनीहरूको शेयर विशेष रूपमा प्रभावित भएका छन्।

यसबीच सुरक्षित लगानी मानिने सुनको मूल्य करिब २ प्रतिशतले बढेको छ। विश्लेषकहरूले द्वन्द्व लामो समयसम्म जारी रहे तेलको मूल्य १०० डलरभन्दा माथि पुग्न सक्ने चेतावनी दिएका छन्, जसले पेट्रोलियम पदार्थ, खाद्यान्न तथा अन्य वस्तुको मूल्यसमेत बढाएर विश्वव्यापी मुद्रास्फीति चर्काउन सक्ने सम्भावना रहेको बताएका छन्। तेल उत्पादक समूह ओपेक+ ले उत्पादन बढाउने निर्णय गरे पनि त्यसले मूल्यवृद्धि नियन्त्रणमा कति प्रभाव पार्छ भन्नेबारे अनिश्चितता कायम रहेको छ।

प्रतिक्रिया