वीरगन्ज (पर्सा),
वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु एक अर्ब ४८ करोड ६४ लाख मूल्यका चार सय ९७ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन्। वीरगन्ज भन्सार कार्यालय का अनुसार ती सवारीसाधनबाट रु ९६ करोड ३६ लाख राजस्व सङ्कलन गरिएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा भने रु ४३ करोड एक लाख मूल्यका एक सय ६५ वटा विद्युतीय सवारीसाधन आयात भएका थिए, जसबाट रु ३५ करोड ५० लाख राजस्व उठाइएको थियो। यस आधारमा चालु वर्षमा विद्युतीय सवारीसाधनको आयात उल्लेखनीय रूपमा बढेको देखिएको छ।
कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आर्थिक वर्षको सात महिनामा रु ८० करोड ५७ लाख मूल्यका एक हजार एक सय २८ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन्। अघिल्लो वर्षको सोही अवधिमा भने रु ४४ करोड तीन लाख मूल्यका तीन हजार ३७४ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए।
त्यसैगरी, चालु आवमा रु एक अर्ब १६ करोड १३ लाख मूल्यका छ सय नौ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएका छन्, जसबाट रु दुई अर्ब ८६ करोड राजस्व सङ्कलन भएको छ। गत वर्षको सोही अवधिमा भने रु एक अर्ब ५० करोड मूल्यका सात सय ४८ वटा यस्ता सवारीसाधन आयात हुँदा रु तीन अर्ब ७३ करोड राजस्व सङ्कलन भएको थियो।
समग्रमा, चालु आर्थिक वर्षको सात महिनामा रु २३ अर्ब ५७ करोड मूल्यका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन्। गत वर्षको सोही अवधिमा भने रु १७ अर्ब १५ करोड मूल्यका सवारीसाधन र पार्टपुर्जा आयात हुँदा रु १३ अर्ब २६ करोड राजस्व सङ्कलन भएको थियो।