काठमाडौं,
काठमाडौं उपत्यकामा आज चैत्र कृष्ण औँसीका अवसरमा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ। यस अवसरमा राजधानीको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ।
परम्पराअनुसार टुँडिखेल क्षेत्रको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बस्ने ‘गुरुमापा’ नामक राक्षसले बालबालिकालाई दुःख दिने विश्वास छ। स्थानीयवासीले उक्त राक्षसलाई संहार गरे पनि त्यसको आत्मा पुनः सक्रिय भई अनिष्ट गर्न सक्ने जनविश्वास रहेकाले प्रत्येक वर्ष यस दिन घोडा दौडाएर त्यसलाई दबाउने परम्परा चलिआएको हो। साथै राति सोही स्थानमा गुरुमापालाई खानेकुरा चढाउने चलन पनि रहिआएको छ।
घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकलासम्बन्धी विविध प्रदर्शन गर्ने कार्यक्रम छ। उक्त समारोहमा रामचन्द्र पौडेल, रामसहायप्रसाद यादव, सुशीला कार्की लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहने जनाइएको छ।
यसै अवसरमा ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा रहेको छ।