निर्वाचनअघि प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

mayukarajkumari

काठमाडौँ

निर्वाचन आयोग
ले निर्वाचन हुन अब १५ दिन मात्रै बाँकी रहँदा प्रविधिको दुरुपयोग नगर्न सबै सरोकारवालालाई आग्रह गरेको छ। आयोगले प्रविधिको गलत प्रयोगले निर्वाचनको निष्पक्षता र विश्वसनीयतामाथि गम्भीर असर पार्न सक्ने चेतावनी दिएको छ।

आयोगले विशेषगरी सामाजिक सञ्जालमार्फत गलत तथा भ्रामक सूचना प्रसारण नगर्न र जिम्मेवार ढङ्गले सूचना सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सरोकारवाला निकाय तथा नागरिकलाई सहयोगी भूमिका निर्वाह गर्न अनुरोध गरेको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर तयार गरिएका दिग्भ्रमित सामग्री सामाजिक सञ्जालमा नराख्न आग्रह गर्दै निर्वाचनलाई मर्यादित र विश्वसनीय बनाउनेतर्फ सबै पक्ष सचेत हुनुपर्ने बताउनुभयो। उहाँले मतदानअघि मत सर्वेक्षणका आधारमा हार–जीतको अनुमान सार्वजनिक नगर्न पनि सञ्चार माध्यमलाई सचेत गराउनुभयो।

उहाँका अनुसार पछिल्ला दिनमा मतदाताको प्रतिक्रिया वा अनुमानका आधारमा निर्वाचन परिणाम पूर्वानुमान गर्ने प्रवृत्ति देखिएकाले आयोगको गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता गतिविधिले मतदाताको स्वतन्त्र निर्णयमा प्रभाव पार्न सक्ने र प्रतिस्पर्धात्मक वातावरणलाई कमजोर बनाउने जोखिम रहेको आयोगको भनाइ छ।

निर्वाचन आचारसंहिता, २०८२ अनुसार मतदातालाई दिग्भ्रमित पार्ने वा उम्मेदवारलाई हतोत्साहित गर्ने कुनै पनि गतिविधि नगर्न आयोगले पुनः आग्रह गरेको छ। प्रविधिको विकासले सूचना प्रवाह सहज बनाए पनि यसको दुरुपयोगले निर्वाचन प्रक्रियामै नकारात्मक असर पार्न सक्ने भएकाले सबै पक्ष जिम्मेवार बन्न आयोगले जोड दिएको छ।

आचारसंहिताको पूर्ण पालना गर्नु प्रत्येक नागरिक, सञ्चार माध्यम र सम्बन्धित निकायको साझा जिम्मेवारी भएको आयोगले स्पष्ट पारेको छ।

प्रतिक्रिया