काठमाडौँ,
राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल उद्योग परिसङ्घबीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क सङ्कलन, विश्लेषण, अनुसन्धान तथा नीतिनिर्माणमा सहकार्य गर्ने उद्देश्यले समझदारी भएको छ। देशको आर्थिक विकास, औद्योगिक विस्तार र प्रभावकारी नीतिनिर्माणका लागि गुणस्तरीय तथा समयानुकूल तथ्याङ्क आवश्यक पर्ने भएकाले यस्तो सहकार्य अघि बढाइएको जनाइएको छ।
तथ्याङ्क प्रणाली विकासका लागि तयार गरिएको राष्ट्रिय रणनीतिअनुसार निजी क्षेत्रसँग सम्बन्धित आर्थिक गतिविधिको तथ्याङ्क सङ्कलन, विश्लेषण र उपयोगलाई सुदृढ बनाउने लक्ष्यसहित सरकारी निकाय र निजी क्षेत्रबीच समन्वय बढाउन समझदारी गरिएको हो। यसले तथ्याङ्कीय गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख डा. कमलप्रसाद पोख्रेल र परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेको उपस्थितिमा कार्यालयका निर्देशक डा. वेदप्रसाद ढकाल र परिसङ्घका महानिर्देशक डा. घनश्याम ओझाले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो।
सो अवसरमा परिसङ्घका अध्यक्ष पाण्डेले यस सहकार्यले निजी क्षेत्रसँग सम्बन्धित आर्थिक तथ्याङ्क सङ्कलन, विश्लेषण र उपयोगलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी, कार्यालय प्रमुख डा. पोख्रेलले सरकारी र निजी क्षेत्रबीचको सहकार्यले तथ्याङ्क प्रणाली विकास, गुणस्तर सुधार तथा प्रयोग विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
समझदारीअनुसार दुवै पक्षबीच राष्ट्रिय आर्थिक गणना, निजी क्षेत्र तथ्याङ्क प्रणाली विकास, अनुसन्धान तथा नीति अध्ययन, तथ्याङ्क आदानप्रदान, क्षमता अभिवृद्धि, प्रचारप्रसार तथा जनचेतना विस्तारका क्षेत्रमा सहकार्य गरिनेछ।