किम जोंग उनले छोरी किम जु एलाई उत्तराधिकारी रोजेको दक्षिण कोरियाको दाबी

mayukarajkumari

उत्तर कोरिया

उत्तर कोरियाली नेता किम जोंग उनले आफ्नी किशोरी छोरीलाई उत्तराधिकारीका रूपमा रोजेको दक्षिण कोरियाको गुप्तचर निकायले जनाएको छ। दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवा (एनआईएस)ले सांसदहरूलाई जानकारी दिँदै करिब १३ वर्षीया किम जु एलाई उत्तराधिकारी तोक्ने चरणमा पुगेको आकलन गरेको हो।

पछिल्लो समय किम जु ए विभिन्न सरकारी तथा उच्चस्तरीय कार्यक्रमहरूमा आफ्ना बाबुसँगै सार्वजनिक रूपमा देखिँदै आएकी छन्। उनी सेप्टेम्बरमा बेइजिङ भ्रमणमा समेत सहभागी भएकी थिइन्, जुन उनको पहिलो विदेशी भ्रमण मानिन्छ। साथै, कोरियन जनसेनाको स्थापना दिवस र कुम्सुसान सूर्य दरबार भ्रमणजस्ता कार्यक्रमहरूमा उनको सक्रिय उपस्थितिले उत्तराधिकारीको संकेत दिएको एनआईएसको निष्कर्ष छ।

उत्तर कोरियामा सत्ताको हस्तान्तरण किम परिवारका तीन पुस्ताबाट हुँदै आएको छ, र किम जोंग उनले पनि सत्ता आफ्नी छोरीलाई सुम्पने सम्भावना बलियो बन्दै गएको विश्लेषण गरिएको छ। यद्यपि, परम्परागत रूपमा पुरुषप्रधान समाज भएको उत्तर कोरियामा छोरीलाई उत्तराधिकारी बनाइनु चासोको विषय बनेको छ।

किम जोंग उन अझै युवा र तुलनात्मक रूपमा स्वस्थ देखिँदै आएका बेला यति चाँडै उत्तराधिकारी घोषणा गर्नुका कारणबारे पनि प्रश्न उठेका छन्। जु एले भविष्यमा उत्तर कोरियाको नीति तथा शासन प्रणालीमा कस्तो परिवर्तन ल्याउनेछिन् भन्ने विषय भने अझै अनिश्चित रहेको छ।

प्रतिक्रिया