बागमती स्वास्थ्य मन्त्रालयद्वारा गरिब र विपन्नको निःशुल्क उपचार सुनिश्चित गर्न निर्देशन

mayukarajkumari

भक्तपुर, 

बागमती प्रदेश स्वास्थ्य मन्त्रालय
ले प्रदेशअन्तर्गत सञ्चालित सबै अस्पताललाई कम्तीमा १० प्रतिशत शय्या गरिब तथा विपन्न बिरामीका लागि निःशुल्क उपलब्ध गराउन निर्देशन जारी गरेको छ।

स्वास्थ्यमन्त्री किरण थापामगरले रासससँगको कुराकानीमा कानुनमा उल्लेख भएअनुसार अस्पतालहरूले लक्षित वर्गका बिरामीका लागि कम्तीमा १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “प्रदेशका १३ जिल्लाभित्र सञ्चालनमा रहेका निजी तथा गैरसरकारी संस्थाका नाममा सञ्चालित अस्पताल र स्वास्थ्य संस्थालाई प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को दफा ३ को उपदफा (६) अनुसार अक्षरशः कार्यान्वयन गर्न निर्देशन जारी गरेका छौँ। कार्यान्वयन नगर्ने अस्पताललाई कारबाही गरिनेछ।”

मन्त्रालयका सचिव डा. सुमित्रा गौतम ले स्वास्थ्य सेवा ऐनअनुसार हरेक अस्पतालले सामाजिक सेवा एकाइ स्थापना गरी बेवारिसे, अति गरिब, विपन्न, अपाङ्गता भएका विपन्न तथा असहाय व्यक्तिलाई निःशुल्क रूपमा कुल शय्याको कम्तीमा १० प्रतिशत शय्यामा उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिनुभयो।

प्रतिक्रिया