महाशिवरात्रि तथा सेना दिवसमा टुँडिखेलमा विशेष समारोह

mayukarajkumari

काठमाडौँ

महाशिवरात्रि तथा २६३औँ सेना दिवसका अवसरमा रामचन्द्र पौडेल आज नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभागी हुनुभएको छ। सो अवसरमा उहाँले सैनिक स्मारकमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभयो र नेपाली सेनाबाट अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो।

राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुनुहुन्छ। नेपाली सेनाले महाशिवरात्रिको दिनलाई परम्परागत रूपमा सेना दिवसका रूपमा मनाउँदै आएको छ। शास्त्रीय मान्यताअनुसार भगवान् शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिने गरिन्छ।

समारोहका क्रममा राष्ट्रपति पौडेलले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही–२०८२’ वार्षिक पत्रिका विमोचन गर्नुभयो। साथै ‘फ्रि फल जम्प’ प्रतियोगितामा प्रथम हुने प्रमुख सेनानी विवेक बिक्रम शाह तथा दोस्रो हुने हुद्दा रमेशकुमार चौधरीलाई पुरस्कार प्रदान गर्नुभयो। सेना दिवसमा प्रस्तुति दिन आएका भारतीय, बेलायती र अमेरिकी सेनाका टोली प्रमुखलाई पनि उहाँले सम्झनास्वरूप उपहार प्रदान गर्नुभयो।

यसअघि सेनाको हेलिकप्टर र ड्रोनमार्फत पुष्पवृष्टि गरिनुका साथै राष्ट्रिय झण्डा र ‘सेना दिवस–२०८२’ लेखिएको ब्यानर प्रदर्शन गरिएको थियो। कार्यक्रममा सेनाले राइफल तथा तोपबाट महाशिवरात्रि बढाइँ, कवाज, विविध रणकौशल, परम्परागत वेशभूषासहित कला, नृत्य र सङ्गीत प्रस्तुत गरेको थियो। सेनाका टुकडीले मार्चपास समेत प्रदर्शन गरेका थिए।

समारोहमा नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न हातहतियार, उपकरण तथा सवारी साधनसमेत प्रदर्शन गरिएको थियो।

कार्यक्रममा रामसहायप्रसाद यादव, सुशीला कार्की, प्रकाशमानसिंह राउत तथा नारायणप्रसाद दाहाल सहित मन्त्रीगण, पूर्वमन्त्री, संवैधानिक निकायका पदाधिकारी, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो।

शिवरात्रिको बढाइँ अवलोकन गर्न टुँडिखेल वरपर सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको थियो। उक्त समारोहको नेपाल टेलिभिजनलगायत विभिन्न विद्युतीय सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए।

प्रतिक्रिया