काठमाडौँ
रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य प्राप्त गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा आज जारी शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान तथा लोकतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सम्पूर्ण व्यक्तित्वप्रति सम्मान व्यक्त गर्नुभएको छ।
उहाँले प्रजातन्त्र स्थापनाका क्रममा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक आन्दोलनलाई दिशा प्रदान गर्ने अग्रजहरूप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ।
शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले संविधानको कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, सुशासन तथा तीव्र विकासका लागि सबै पक्ष एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गर्नुभएको छ। साथै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन सबै नागरिकलाई सक्रिय भूमिका निर्वाह गर्न अपिल गर्नुभएको छ।
विसं २००७ सालको क्रान्तिले निरङ्कुश शासन अन्त्य गर्दै मानवअधिकार र नागरिक स्वतन्त्रता स्थापित गरेको ऐतिहासिक उपलब्धिको स्मरणस्वरूप प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिएको उहाँले उल्लेख गर्नुभएको छ। जनताको सङ्घर्ष र सहिदहरूको बलिदानबाट ‘सार्वभौमसत्ता जनतामा निहित हुन्छ’ भन्ने मान्यता स्थापित भएको दिनका रूपमा यस दिवसलाई गौरवपूर्ण रूपमा स्मरण गरिने पनि सन्देशमा भनिएको छ।
लामो सङ्घर्षपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान निर्माणमा २००७ सालको क्रान्ति महत्वपूर्ण आधार बनेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्त्वलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले लोकतन्त्रले सामाजिक न्याय, समानता, सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने उल्लेख गर्दै सुशासनमार्फत मुलुकको विकास र समृद्धि हासिल गर्नु नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुख्य उद्देश्य भएको बताउनुभएको छ।