चितवनमा १८ जनामा कुष्ठरोग पुष्टि, भरतपुरमा सबैभन्दा बढी सङ्क्रमण

mayukarajkumari

चितवन, 

चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठरोगको सङ्क्रमण पुष्टि भएको छ। साउनयता अस्पतालमा आएका बिरामीमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा सङ्क्रमण देखिएको जनाइएको छ।

जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार भरतपुर महानगरपालिकाका १३ जनामा कुष्ठरोग देखिएको छ भने कालिका नगरपालिकामा चार र माडी नगरपालिकामा एक जनामा सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमितमध्ये १० जना पुरुष र आठ जना महिला रहेका छन्। गत आर्थिक वर्षमा भने ४३ जनामा कुष्ठरोग देखिएको थियो, जसमा २६ पुरुष, १६ महिला र एक जना १४ वर्षमुनिका बालबालिका रहेका थिए।

कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म जीवाणुबाट सर्ने सरुवा रोग हो। यसको सुरुवाती लक्षणका रूपमा शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दाग देखापर्ने गर्दछ। यसका साथै अनुहार र कानका लोतीमा गिर्खा आउने, छाला बाक्लो र चम्किलो हुने तथा आँखीभौँ झर्ने जस्ता लक्षण पनि देखिन सक्छन्। समयमा उपचार नभएमा यसले अपाङ्गता समेत निम्त्याउन सक्छ।

स्नायुमा असर पर्दा हातखुट्टा झमझम गर्ने, सुन्निने, दुख्ने, छुँदा थाहा नहुने तथा मांसपेशी कमजोर हुने जस्ता लक्षण देखिएमा कुष्ठरोगको शङ्का गर्न सकिने स्वास्थ्यकर्मीले बताएका छन्।

लक्षणका आधारमा कुष्ठरोगलाई बढी किटाणु भएको (एमबी) र कम किटाणु भएको (पीबी) गरी वर्गीकरण गरिन्छ। बढी किटाणु भएका बिरामीले १२ महिना र कम किटाणु भएका बिरामीले छ महिनासम्म नियमित औषधि सेवन गर्नुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रतिक्रिया