काठमाडौँ,
नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिनसमेत बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। केन्द्रीय बैङ्कले जारी गरेको निर्देशनअनुसार आवश्यक वित्तीय सेवा अवरुद्ध नहुने गरी कार्यालय सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरिएको हो।
होली पर्व तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण फागुन २१ गते बिहीबार सार्वजनिक बिदा परे पनि सेवाग्राहीलाई समस्या नपर्ने गरी बैङ्क तथा वित्तीय संस्थाका शाखा सञ्चालनमा राख्न भनिएको राष्ट्र बैङ्कले जनाएको छ। विशेष गरी सरकारी आर्थिक कारोबार नियमित रूपमा सञ्चालन हुने व्यवस्था गर्न निर्देशन दिइएको छ।
निर्देशनअनुसार सरकारी कारोबारका लागि तोकिएका वाणिज्य बैङ्कहरूले भुक्तानी प्रणाली सञ्चालन गर्ने, राजस्व दाखिला लिने तथा आवश्यक वित्तीय सेवा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्नेछ। साथै निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित बैङ्क खाता सञ्चालन गर्ने संस्थाहरूले राजनीतिक दल तथा उम्मेदवारका नगद, चेक वा अन्य विनिमय साधनमार्फत हुने कारोबारसमेत नियमित रूपमा सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।