फरक क्षमता भएका विद्यार्थीको एसईई परीक्षा सहभागिता सुरु, विशेष व्यवस्था सहित परीक्षा

mayukarajkumari

काठमाडौँ, 

देशभर आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा फरक क्षमता भएका विद्यार्थीहरूको पनि उल्लेखनीय सहभागिता रहेको छ। जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयका विद्यार्थीहरू बिहानै परीक्षा केन्द्र चामुण्डा माविमा पुगेका थिए।

केही विद्यार्थी ह्वीलचेयरमा आएका थिए भने केहीले अरूको सहयोगमा परीक्षा दिएका थिए। ह्वीलचेयर र सहायतासहित परीक्षा दिने विद्यार्थीहरूमा आलोक शाह, विनोद प्रसाद अधिकारी, अमर घले मगर र सुपन गुरुङ रहेका छन्।

यस वर्ष खगेन्द्र नवजीवन विद्यालयका ४३ जना विद्यार्थी एसईईमा सहभागी भएका छन्। प्रधानाध्यापक राघव प्रसाद दवाडीका अनुसार तीमध्ये ४ जना फरक क्षमता भएका विद्यार्थी हुन्। उनीहरूको लागि कक्षाकोठा बाहिर विशेष व्यवस्था मिलाएर परीक्षा सञ्चालन गरिएको थियो।

विद्यार्थीहरूले सहज वातावरणमा परीक्षा दिन पाउने वातावरण तयार पारिएको र विद्यालयले सबै आवश्यक सहयोग प्रदान गरेको प्रधानाध्यापक दवाडीले जानकारी दिनुभयो। 

प्रतिक्रिया