जेनेभामा अमेरिका मध्यस्थतामा रूस र युक्रेनबीच युद्ध अन्त्यका लागि तेस्रो चरणको वार्ता सुरु भएको छ। रूसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण थालेको चार वर्ष पुग्न लाग्दा वार्ता भए पनि ठोस उपलब्धि हुने अपेक्षा कम देखिएको छ।
वार्ता सुरु हुनुअघि रूसले युक्रेनका १२ क्षेत्रमा करिब ४०० ड्रोन र झण्डै ३० मिसाइल प्रहार गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्। आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ऊर्जा संरचना, आवासीय भवन र रेल पूर्वाधारमा क्षति पुगेको छ। ओडेसा लगायतका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ।
युक्रेनका विदेशमन्त्री आन्द्रिइ सिबिहाले रूसले शान्ति प्रयासको बेवास्ता गरिरहेको आरोप लगाएका छन्। यता रूसले भने आफ्ना हवाई प्रतिरक्षा प्रणालीले १५० भन्दा बढी ड्रोन खसालेको दाबी गरेको छ। युक्रेनी ड्रोन आक्रमणपछि रूसको क्रास्नोडार क्षेत्रस्थित एक तेल प्रशोधन केन्द्रमा आगलागी भएको पनि जनाइएको छ।
अमेरिकी विशेष दूत स्टिभ विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरको मध्यस्थतामा भइरहेको वार्तामा युक्रेनतर्फ राष्ट्रिय सुरक्षा परिषद्का सचिव रुस्टेम उमेरोभ तथा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका प्रमुख सहयोगी सहभागी छन् भने रूसतर्फ राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्की नेतृत्वको टोली सहभागी छ।
रूसले कब्जामा लिएको डोनबास क्षेत्रसहित थप भूभाग युक्रेनले छोड्नुपर्ने माग दोहोर्याइरहेको छ, जुन युक्रेनले अस्वीकार गरेको छ। युक्रेनले कुनै पनि सम्झौताअघि पश्चिमी देशबाट बलियो सुरक्षा ग्यारेन्टी आवश्यक रहेको बताएको छ।
गत महिना अबुधाबीमा भएको त्रिपक्षीय वार्ताले ठोस सहमति नदिए पनि त्यसपछि केही युद्धबन्दी आदानप्रदान भएको थियो। अहिलेको वार्ता बुधबारसम्म जारी रहने बताइएको छ।