इजरायल–हेजबुल्लाह द्वन्द्व चर्कियो, लेबनानमा ५२ जनाको मृत्यु

mayukarajkumari

लेबनान,

इजरायल र लेबनानस्थित हेजबुल्लाहबीचको तनाव फेरि चर्किएको छ। हेजबुल्लाहले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको हत्या भएको भन्दै उत्तरी इजरायलको हाइफा सहरतर्फ रकेट र ड्रोन प्रहार गरेको जनाएको छ। त्यसको प्रतिउत्तरमा इजरायल रक्षा सेना (आईडीएफ) ले लेबनानका विभिन्न लक्ष्यमा हवाई तथा नौसैनिक आक्रमण गरेको जनाएको छ।

लेबनानको विपद् व्यवस्थापन निकायका अनुसार सोमबार इजरायली आक्रमणमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ। इजरायलतर्फ भने हेजबुल्लाहको आक्रमणबाट मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। आईडीएफले लेबनानबाट प्रहार गरिएका केही प्रक्षेप्य अवरोध गरिएको र अन्य खुला क्षेत्रमा खसेको जनाएको छ।

इजरायलका रक्षा मन्त्री इजरायल काट्जले हेजबुल्लाहले “ठूलो मूल्य चुकाउनुपर्ने” चेतावनी दिँदै संगठनका नेता नइम कासेमलाई लक्ष्य बनाइएको बताएका छन्। आक्रमणमा हेजबुल्लाहका उच्च पदस्थ अधिकारी तथा संरचनामा क्षति पुगेको दाबी गरिएको छ। लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर दाहिये र दक्षिणी क्षेत्रमा शक्तिशाली विस्फोटका आवाज सुनिएको र सर्वसाधारण विस्थापित भएका छन्।

लेबनानका प्रधानमन्त्री नवाफ सलामले हेजबुल्लाहको कदमलाई “गैरजिम्मेवार” भन्दै समूहका सैन्य गतिविधि तत्काल प्रतिबन्ध गर्ने घोषणा गरेका छन्। राष्ट्रपति जोसेफ आउनले पनि लेबनानलाई बाह्य द्वन्द्वको रणभूमि नबनाउन चेतावनी दिएका छन्। यसैबीच, क्षेत्रीय तनाव इरान, इजरायल र अमेरिकाबीचको टकरावपछि तीव्र रूपमा फैलिएको छ, जसले मध्यपूर्वको सुरक्षास्थितिलाई थप जटिल बनाएको छ।

प्रतिक्रिया