काठमाडौँ,
रामचन्द्र पौडेलले नेपालीहरूको महान् सांस्कृतिक पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव, सहिष्णुता र एकता सुदृढ बनाउन प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ। होली पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको मंगलकामना व्यक्त गर्नुभएको हो।
काठमाडौँबाट जारी सन्देशमा राष्ट्रपति पौडेलले होली पर्वले समाजमा विद्यमान विकृति, विसङ्गति तथा कुरीतिहरू अन्त्य गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले यस पर्वले नेपाली समाजमा आपसी सम्मान, सहकार्य र सद्भावलाई अझ मजबुत बनाउने अपेक्षा पनि गर्नुभएको छ।
सन्देशमा असत्यमाथि सत्य, अन्यायमाथि न्याय, अधर्ममाथि धर्म तथा दूराचारमाथि सदाचारको विजयको प्रतीकका रूपमा होली मनाइने उल्लेख गर्दै वैरभाव त्यागी प्रेम, आत्मीयता र भाइचाराको भावना सुदृढ गर्न आग्रह गरिएको छ। आफन्त तथा साथीसङ्गीबीच अबिर र रङ्ग साटासाट गर्दै खुशी साट्ने परम्पराले सामाजिक सम्बन्धलाई अझ नजिक बनाउने उहाँको भनाइ छ।
रङ्गहरूको पर्वका रूपमा प्रत्येक वर्ष वसन्त ऋतुमा हर्षोल्लासपूर्वक मनाइने होली नेपाली संस्कृतिको महत्वपूर्ण पर्व मानिन्छ। विभिन्न रङ्गीचङ्गी कपडाले सजिएको चिर ठड्याएपछि सुरु हुने यो पर्व पूर्णिमाको राति चिर दाहसँगै समापन हुने परम्परा रहेको छ। राष्ट्रपति पौडेलले नेपाली समाज जातीय, भाषिक र सांस्कृतिक विविधताले भरिपूर्ण भए पनि यही विविधताभित्रको एकता नै नेपालको पहिचान र सुन्दरता भएको उल्लेख गर्नुभएको छ।