आजदेखि एसइई परीक्षा सुरु, पारदर्शिता र छिटो नतिजामा जोड

mayukarajkumari

काठमाडौं,

माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभर एकैसाथ सुरु भएको छ। यस वर्ष परीक्षा थप पारदर्शी, व्यवस्थित र छिटोछरितो बनाउन नयाँ निर्देशिका लागू गरिएको छ, जसले अनियमितता न्यून गर्दै छिटो नतिजा प्रकाशनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। परीक्षा बिहान ८ बजेदेखि देशभरका तोकिएका केन्द्रहरूबाट सञ्चालन भइरहेको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जनाएको छ।

यस वर्षको एसइई परीक्षामा कुल पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका छन्। तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना रहेका छन्। परीक्षामा छात्राको सङ्ख्या बढी रहेको छ। देशभर एक हजार ९६६ परीक्षा केन्द्र तोकिएका छन् भने ११ हजार ३७९ विद्यालयका विद्यार्थी सहभागी भएका छन्। जापानस्थित एक परीक्षा केन्द्रबाट समेत २३ जनाले परीक्षा दिइरहेका छन्।

परीक्षाको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन प्रत्येक केन्द्रमा प्रहरी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक तथा कर्मचारीको व्यवस्था गरिएको छ। प्रश्नपत्रहरू सम्बन्धित केन्द्रमा पठाइसकिएको छ। यस वर्ष परीक्षा सकिएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने परीक्षणपछि सुरक्षित रूपमा सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

नयाँ निर्देशिकाअनुसार उत्तरपुस्तिका परीक्षण केन्द्रमै सिसिटिभी जडान भएको सुरक्षित कक्षमा गरिनेछ। परीक्षकले मोबाइल वा अन्य विद्युतीय उपकरण प्रयोग गर्न नपाउने तथा उत्तरपुस्तिका बाहिर लैजान नपाइने प्रबन्ध गरिएको छ। लापरवाही पाइएमा कारबाही गर्ने व्यवस्था पनि गरिएको छ।

यसैगरी, यस वर्ष सामूहिक अनुगमनमा रोक लगाइएको छ। अनुगमनका नाममा परीक्षा हलमा प्रवेश गर्दा परीक्षार्थीलाई असर परेको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो। अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ।

आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ। भोलि अनिवार्य नेपाली, त्यसपछि गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन र ऐच्छिक विषयहरूको परीक्षा तालिकाअनुसार सञ्चालन हुनेछन्।

प्रतिक्रिया