काठमाडौँ,
बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु भएको छ। राजनीतिक दल तथा उम्मेदवारलाई प्रचारप्रसारका लागि दिइएको समय सोमबार राति १२ः०० बजेसम्मका लागि मात्र निर्धारण गरिएको थियो। सो अवधि समाप्त भएसँगै अब मतदान सम्पन्न नभएसम्म कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाइने छैन।
निर्वाचन आयोगका अनुसार मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि लागू हुने मौन अवधिमा सभा, जुलुस, भाषण, भेला, छलफल, समीक्षा, मत माग्ने, सामाजिक सञ्जालमा पोष्ट गर्ने वा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले हिँडडुल गर्नेसमेतका गतिविधि गर्न नपाइने व्यवस्था छ। एसएमएस, फेसबुक, भाइबरलगायत विद्युतीय माध्यमबाट मत माग्न वा प्रचारप्रसार गर्न पनि प्रतिबन्ध लगाइएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्नेगरी आर्थिक कारोबार वा अन्य गतिविधि गरेको पाइए उम्मेदवारी खारेज गर्नुका साथै छ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने कडा कारबाही गरिने जानकारी दिनुभयो। आयोगले निर्वाचनलाई प्रभाव पार्ने गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गर्ने स्पष्ट पारेको छ।
मौन अवधिको उद्देश्य मतदातालाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा विवेकपूर्ण ढङ्गले मतदान गर्ने अवसर प्रदान गर्नु हो। प्रचारप्रसारको चापबाट मुक्त भई उम्मेदवारका कार्यक्रम र दृष्टिकोणबारे शान्त मनले समीक्षा गर्न तथा आफ्नो रोजाइको उम्मेदवार चयन गर्न यो अवधि महत्त्वपूर्ण मानिन्छ।
निर्वाचन व्यवस्थापनका हिसाबले पनि मौन अवधि महत्वपूर्ण रहने आयोगले जनाएको छ। यस अवधिमा मतदान केन्द्रको तयारी, मतदाता लाइन व्यवस्थापन, शान्ति सुरक्षाको मूल्याङ्कनलगायतका कार्य तीव्र बनाइनेछ। साथै, मौन अवधि सुरु हुनुअघि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका प्रचार सामग्री हटाइसक्नुपर्ने आचारसंहितामा उल्लेख गरिएको छ।