चार दिनमा दुई सय २६ जना पक्राउ, नेपाल प्रहरीले खोजी अभियान तीव्र

mayukarajkumari

काठमाडौँ, 

नेपाल प्रहरी
ले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहार लगायतका गैरकानुनी कार्यविरुद्ध सञ्चालन गरेको खोजी अभियानमा चार दिनमा दुई सय २६ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार चैत १८, १९, २० र २१ गतेको अभियानअन्तर्गत पक्राउ परेकाहरूलाई कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार १८ गते काठमाडौँ उपत्यकाबाट ५१ जना र कोशी प्रदेशबाट १८ जना पक्राउ परेका थिए। १९ गते कोशी प्रदेशबाट एक, मधेस प्रदेशबाट सात, बागमती प्रदेशबाट २३, गण्डकी प्रदेशबाट दुई र कर्णाली प्रदेशबाट ११ जनालाई पक्राउ गरिएको थियो।

२० गते मधेस प्रदेशबाट आठ, गण्डकीबाट १०, लुम्बिनीबाट चार र सुदूरपश्चिम प्रदेशबाट दुई जना पक्राउ परेका छन्। २१ गते काठमाडौँ उपत्यकाबाट सबैभन्दा धेरै ६२ जनालाई पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमध्ये गुण्डागर्दी, बिचौलिया, यातायात तथा मालपोत कार्यालयमा दुःख र हैरानी दिने, सार्वजनिक स्थलमा अभद्र व्यवहार गर्ने व्यक्तिहरू छन्। प्रवक्ता काफ्लेले अभियान निरन्तर जारी रहने जानकारी दिनुभयो।

प्रतिक्रिया