आर्कटिक क्षेत्रमा रुसी खतरा बढेपछि नर्वेमा बेलायती सैनिक संख्या दोब्बर गरिने

mayukarajkumari

बेलायतले आर्कटिक क्षेत्रमा रुसबाट बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै नर्वेमा तैनाथ आफ्ना सैनिकको संख्या आगामी तीन वर्षभित्र दोब्बर बनाउने घोषणा गरेको छ। रक्षामन्त्री जोन हिलीका अनुसार हाल करिब १,००० सैनिक रहेकाे संख्या बढाएर २,००० पुर्‍याइनेछ। नाटो सहयोगी राष्ट्रहरूबीच रुसले आर्कटिक क्षेत्रमा शीतयुद्धकालीन सैन्य अड्डा पुनःसञ्चालन गर्नुका साथै सैन्य गतिविधि बढाएको भन्दै चिन्ता बढिरहेको छ।

यस योजनाअन्तर्गत बेलायतले प्रस्ताव गरेको ‘आर्कटिक सेन्ट्री’ पहलमार्फत निगरानी र सुरक्षालाई मजबुत बनाइनेछ। मार्च महिनामा १,५०० रोयल मरीन कमान्डोहरूले नर्वे, फिनल्याण्ड र स्विडेनमा हुने ‘एक्सरसाइज कोल्ड रेस्पोन्स’ अभ्यासमा भाग लिनेछन्। साथै सेप्टेम्बरमा बेलायतको नेतृत्वमा ‘लायन प्रोटेक्टर’ अभ्यास सञ्चालन गरिनेछ, जसमा हवाई, स्थल र नौसैनिक बल सहभागी हुनेछन्।

युक्रेनमाथिको आक्रमणपछि बढेको तनावबीच रुसले उत्तर एटलान्टिक क्षेत्रमा पनडुब्बी गतिविधि बढाएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ। पछिल्लो दुई वर्षमा बेलायती जलक्षेत्रमा रुसी पनडुब्बी गतिविधि ३० प्रतिशतले बढेको दाबी गरिएको छ। बेलायत र नर्वेबीच गत वर्ष समुद्रमुनिका केबल तथा पाइपलाइन सुरक्षा गर्ने रक्षा सम्झौता समेत भएको थियो।

प्रतिक्रिया