पाकिस्तानमा वर्षा र आँधीबेहरीमा १७ जनाको मृत्यु, ३० घाइते

mayukarajkumari

पाकिस्तान (कराची),

पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा भारी वर्षा र आँधीबेहरीका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

स्थानीय अधिकारी र उद्धारकर्मीका अनुसार, भारी वर्षाले सहरका पूर्वाधारमा ठूलो क्षति पुर्‍याएपछि विभिन्न क्षेत्रमा हताहत भएको रिपोर्ट प्राप्त भएको छ। बलदिया टाउन क्षेत्रमा वर्षाका कारण पर्खाल ढलेपछि उद्धारकर्मीले ११ जनाको मृत्यु भएको जानकारी दिएका छन्।

कायद आबाद क्षेत्रमा घरको छत खसेपछि एक दम्पतीको मृत्यु भएको र सहरका अन्य क्षेत्रमा थप ६ जनाको मृत्यु भएको जनाइएको छ।

कराचीका मेयर मुर्तजा वहाबले सहरमा हाल तीव्र हावासहित भारी वर्षा भइरहेको जानकारी दिँदै बासिन्दालाई अनावश्यक आवागमनबाट टाढा रहन आग्रह गर्नुभएको छ। मेयरले सहरका धेरै क्षेत्रमा वर्षाको पानी जम्मा भएको, यातायात र दैनिक जीवनमा बाधा पुर्‍याउने घटनाहरूको व्यवस्थापन गर्न शहरमा टोलीहरू परिचालित भएको जानकारी दिनुभयो।

सिन्ध प्रान्तका मन्त्री नासिर हुसेन शाहले आँधीबेहरीपछि कराचीसहित प्रान्तभर उच्च सतर्कता घोषणा गर्नुभएको छ। पाकिस्तान मौसम विभागले पश्चिमी मौसम प्रणालीको प्रभावमा बिहीबारसम्म कराची र सिन्धका अन्य भागहरूमा भारी हावा, असिना र वर्षा हुने पूर्वानुमान जारी गरेको छ।

प्रतिक्रिया