काठमाडौँ,
बजारलाई स्वच्छ र व्यवस्थित बनाउन निरन्तर अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायरामा ल्याएको छ।
आज गरिएको स्थलगत अनुगमनका क्रममा विभिन्न कैफियत भेटिएपछि विभागले ती मार्टहरूलाई आवश्यक व्यवसायिक कागजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो। विभागका अनुसार मेट्रो मार्केट प्रालि (इमाडोल), सेलवेज क्यास एण्ड क्यारी प्रालि (महाराजगञ्ज), मेगा मार्ट प्रालि (विशालनगर) र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि (चक्रपथ) लाई उक्त निर्देशन जारी गरिएको छ।
यसैगरी, मुना कृषि लिमिटेडलाई पनि सोही प्रकृतिको निर्देशन दिइएको विभागले जनाएको छ। अनुगमनका क्रममा केही त्रुटि भेटिएका थप १० वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ।
विभागले स्थानीय सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीको उपस्थितिमा कालाबजारी नियन्त्रण गर्ने, अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउने तथा उपभोक्ताको हित संरक्षण गर्ने उद्देश्यका साथ नियमित रूपमा बजार अनुगमन गर्दै आएको जनाएको छ।