क्यानडा–भारत सम्बन्ध सुधार प्रयास : कार्नीको भारत भ्रमण, दुवै देशलाई आर्थिक लाभको अपेक्षा

mayukarajkumari

नयाँदिल्ली,

क्यानडाका प्रधानमन्त्री मार्क कार्नी भारत भ्रमणमा पुगेका छन्। दुई देशबीच बिग्रिएको सम्बन्ध सुधार गर्दै व्यापारिक सहकार्य विस्तार गर्ने उद्देश्यले भएको यो भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ। मुम्बईमा व्यवसायीहरूसँग भेटघाट गरेपछि कार्नीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँदिल्लीमा वार्ता गर्ने कार्यक्रम रहेको छ।

सन् २०२३ मा क्यानडाले एक सिख अलगाववादी नेताको हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएपछि दुई देशबीच कूटनीतिक सम्बन्ध चिसिएको थियो। भारतले उक्त आरोप अस्वीकार गरेको थियो। अहिले भने दुवै देश आर्थिक हितलाई प्राथमिकता दिँदै सम्बन्ध सुधारतर्फ अघि बढेका देखिएका छन्। विशेषगरी अमेरिकी कर (ट्यारिफ) नीतिका कारण क्यानडाले व्यापारिक साझेदार विविधीकरण गर्ने रणनीति अपनाएको छ।

कार्नीको भ्रमणको मुख्य एजेन्डामा भारतसँग लामो समयदेखि छलफलमा रहेको स्वतन्त्र व्यापार सम्झौतालाई अघि बढाउने, ऊर्जा, प्रविधि, कृत्रिम बुद्धिमत्ता तथा रक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने विषय रहेका छन्। क्यानडा अमेरिका माथिको आर्थिक निर्भरता घटाउन चाहन्छ भने भारत ऊर्जा आपूर्ति स्रोत विस्तार गर्ने प्रयासमा रहेको छ।

भारतका लागि क्यानडासँगको सम्बन्ध सुधार ‘दुवै पक्षका लागि लाभदायक’ मानिएको छ। भारतले युरेनियम, तेल र ग्यास आपूर्ति सुनिश्चित गर्न क्यानडासँग सहकार्य बढाउने अपेक्षा गरेको छ, जसअन्तर्गत १० वर्षे युरेनियम आपूर्ति सम्झौता हुन सक्ने चर्चा छ। अमेरिकी ट्यारिफ दबाबपछि दुवै देश नयाँ आर्थिक साझेदारी खोज्न अग्रसर भएको विश्लेषकहरूले बताएका छन्।

प्रतिक्रिया