कर्णालीमा एसइई तयारी: ३८ हजार विद्यार्थी परीक्षा दिँदै

mayukarajkumari

कर्णाली, 

कर्णाली प्रदेश
बाट यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा ३८ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन्। प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रमार्फत विद्यार्थीहरूले परीक्षा दिने तयारी गरिएको छ।

शिक्षा विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी तथा परीक्षा शाखा प्रमुख खिमप्रसाद ढकालका अनुसार नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

उहाँका अनुसार सबैभन्दा बढी विद्यार्थी सुर्खेत जिल्लाबाट नौ हजार ७७९ जना परीक्षामा सहभागी हुनेछन् भने सबैभन्दा कम डोल्पाबाट ६७४ विद्यार्थी मात्र सहभागी हुनेछन्, जहाँ चार वटा परीक्षा केन्द्र रहेका छन्। त्यसैगरी दैलेखबाट छ हजार २५३, जाजरकोटबाट चार हजार ८१३, सल्यानबाट चार हजार १४२, रुकुमपश्चिम बाट तीन हजार ९२२ र कालीकोटबाट तीन हजार ७१७ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

यस्तै जुम्लाबाट दुई हजार २५५, मुगुबाट एक हजार ५२४ र हुम्लाबाट एक हजार ३०० विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। परीक्षा केन्द्रको विवरणअनुसार सुर्खेतमा ३४, दैलेखमा २२, कालीकोटमा २०, सल्यानमा १९, जाजरकोट र रुकुमपश्चिममा १६–१६, जुम्लामा १४, मुगुमा नौ, हुम्लामा सात र डोल्पामा चार परीक्षा केन्द्र तोकिएको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया