कालोपत्रे गर्न धुलिखेल–खावा सडकखण्डमा चैत ७–२० सम्म राति यातायात बन्द

mayukarajkumari

काभ्रेपलाञ्चोक,


अरनिको
राजमार्गअन्तर्गत पर्ने धुलिखेल–खावा सडकखण्डमा कालोपत्रे (पक्की) गर्ने कामलाई तीव्रता दिन आगामी चैत गतेदेखि २० गतेसम्म रातिको समयमा यातायात सञ्चालन बन्द गरिने भएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले सार्वजनिक सूचना जारी गर्दै सो अवधिमा निर्माण कार्य सहज बनाउन यातायातमा आंशिक रोक लगाइने जनाएको हो।

कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुनम योगेशका अनुसार चैत देखि २० गतेसम्म प्रत्येक दिन साँझ बजेदेखि बिहान बजेसम्म ठूला चारपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न रोक लगाइनेछ। त्यस्तै सोही समयमा यात्रुवाहक बससमेत चल्न नदिने व्यवस्था गरिएको छ। यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ।

यसैगरी टिपर, ट्रक लगायतका मालवाहक सवारीसाधनलाई भने पास लिएका सवारीसमेत गरी चौबिसै घण्टा सञ्चालनमा रोक लगाइएको जनाइएको छ। निर्माण कार्यको गति बढाउन यस्तो व्यवस्था गरिएको कार्यालयले स्पष्ट पारेको छ।

धुलिखेलदेखि खावासम्म करिब चार किलोमिटर सडकखण्डको स्तरोन्नति कार्य ढिलासुस्तीका कारण तीन वर्षदेखि प्रभावित हुँदै आएको थियो। पुरानो निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरेपछि कार्यालयले ठेक्का रद्द गरी नयाँ कम्पनीसँग गत कात्तिक महिनामा सम्झौता गरेको थियो। त्यसपछि सडक विस्तार तथा स्तरोन्नतिको कामलाई पुनः तीव्रता दिइएको हो।

यसअघि उक्त सडक २०७९ जेठ २० गते सम्झौता भई २२ महिनाभित्र अर्थात् २०८० चैत १९ गतेसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित रु २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का दिइएको थियो। तर निर्धारित समयसीमा सकिएको ११ महिनापछि गत वर्ष फागुन १५ गते कार्यालयले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेको थियो।

अरनिको राजमार्ग हुँदै चीनसँग जोडिएको उत्तरी नाका तातोपानी तथा दोलखा, रामेछाप लगायतका जिल्लातर्फ जाने मुख्य मार्ग भएकाले यस सडकखण्डको महत्व बढी छ। तर निर्माण कार्य ढिलो हुँदा यात्रुले लामो समयदेखि धुलो, हिलो, ट्राफिक जाम तथा दुर्घटनाको जोखिमबीच यात्रा गर्नुपरेको छ।

सडकलाई थप मजबुत बनाउन पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने त्यसपछि दुई चरणमा डिबिएम तथा आस्फाल्ट कालोपत्रे गर्ने योजना रहेको कार्यालयले जनाएको छ। निर्माण कार्य समयमै सम्पन्न नहुँदा भत्काइएको सडकका कारण दुर्घटनासमेत हुने गरेका छन्।

प्रतिक्रिया